Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, July 7, 2015

डा.गुप्तबहादुर श्रेष्ठ, दीन दुःखीका जीवनदाता

On : 6:06 AM
In :
आफैंले अस्पताल खोलेर राम्रोसँग चलाइरहेका डा. गुप्तबहादुर श्रेष्ठलाई जन्मथलो पूर्वी पहाडी जिल्ला संखुवासभाको बेलाबेलामा याद आईरहन्थ्यो।
संखुवासभाको वानामा २०१७ सालमा जन्मिएका श्रेष्ठले गाउँमै पढे। सानैदेखि पढाइमा अब्बल उनी गाउँमै एसएलसी सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौ भित्रिए। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट हेल्थ असिष्टेण्टको अध्ययन पूरा गरे। उनी चिकित्साशास्त्र नै अध्ययन गर्न चाहन्थे। केही समय हेल्थ असिष्टेण्टको जागिर गरेर उनले त्रिवि शिक्षण अस्पतालमै चिकित्साशास्त्र अध्ययन गर्न थाले। पढाइ पूरा गरेर केही समयपछि क्लिनिक खोले। 'त्यसलाई प्रवर्द्धन गर्दै जाँदा आजको यो हेल्पिङ ह्याण्ड बनेको  हो', सेतोपाटीसँग कुरा गर्दै डा.श्रेष्ठले भने।
आफूले खोलेको संस्थाको नामै हेल्पिङ ह्याण्ड भएपछि सहयोगी हातहरू त बढाउनै पर्यो। उनले सोचे- मलाई मेरो संखुवासभाले जन्म दियो, कर्म दियो तर मैले उसका लागि केही नगरेको भान भयो। त्यसैले संखुवासभाका लागि केही गर्ने अठोट लिएँ। 'जन्मथलोले आफूलाई यो स्थानमा ल्याइपुर्यायो भने त्यसका लागि पनि केही गर्नुपर्छ नि।', उनले भने।
२०५३ सालमा जिल्ला स्वास्थ्य प्रमुख भएर संखुवासभा जाँदा नै उनले आफ्ना केही सपना पूरा हुने देखे। अस्तव्यत जिल्ला अस्पताललाई सुधारे। एक वर्ष प्रमुख भएर बस्दा उनले इमर्जेन्सी ब्लड ट्रान्समिसन सेवा जिल्ला अस्पतालबाटै सुरू गरे। संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पताललाई सुविधासम्पन्न अस्पताल बनाउँछु भनी उनले अठोट गरे।
उनी प्रमुख स्वास्थ्य अधिकारी भएर काम गरेको स्थानीय राजनीतिक दलका नेताहरूलाई मन परेन। उनी राजनीतिको चंगुलमा परे। र अन्ततः उनलाई मेची स्वास्थ्य कार्यालयमा सरूवा गरियो।
आफ्नो जन्मस्थानमा केही गरौं काठमाडौंबाट आएका उनलाई आफू राजनीतिक भागबन्डामा परेर काम गर्न मनले मानेन।
मेची अञ्चल स्वास्थ्य कार्यालयमा जानुभन्दा क्लिनिक खोलेर बस्छु भन्ने सोचे अनि फेरि काठमाडौं हानिए।
सुरूमा एउटा क्लिनिक खोलेर बसेका थिए। साथीहरूले मनमोहन मेमोरियल अस्पताल खोल्न लागेको उनलाई बताए। उनी पनि साथीहरूलाई साथ दिन मनमोहन अस्पतालमा संस्थापक कार्यकारी प्रमुख भएर काम गरे। अस्पताल राम्रै चलिरहेको थियो। एमालेका मान्छेहरू धेरै भर्ना हुन थाले। उनलाई त्यो मन परेन। साथीहरूलाई अफ्ठेरो पर्ने ठानेर उनी आफैं बाहिरिए।
करिब २ वर्ष त्यहाँ काम गरेर फेरि क्लिनकमै फर्किए। त्यहाँ पनि राजनीतिक भागबण्डाकै कारण रह्यो। ‘राजनीति नगर्ने आफूलाई राजनीतिसँग जोडेर पद दिएको मन पर्दैन,’ उनले भने,‘ अस्पतालमा पनि ठूलो राजनीतिक भागबण्डा चल्दो चल्छ नि तपाईँलाई थाहै होला।’
अब जागिर खान्न बरू यही क्लिनकलाई सुधार्छु भन्ने सोचेर फेरि जागिर छोडिदिए।
***
सानोतिनो रोग लागेकै भए पनि पूर्वी पहाडी जिल्ला संखुवासभाका अधिकांश बिरामी धरान, विराटनगर, वा काठमाडौं जानुपर्ने अवस्था थियो। यसको एउटा मुख्य कारण थियो- अत्याधुनिक सरसामान र दक्ष चिकित्सकको अभाव। विकट पहाडी ठाउँमा राम्रा डाक्टर जान मान्दैनन्। भएकाले नै काम चलाउनु पर्ने हुन्छ। त्यसैले उनले हालै ३५ लाख रूपैयाँ खर्चिएर मुलुकका कुनै पनि अञ्चल अस्पतालमा नभएको अत्याधुनिक मेसिनहरू त्यहाँ जडान गरेका छन् । 'अब भने जिल्ला अस्पतालमा आउने बिरामीलाई हत्तपत्त बाहिर पठाउनु पर्दैन।', उनले भने।
आधुनिक डिजिटल कम्प्युटराइज्ड एक्सरे मेसिन, मेडिकल लाइब्रेरी, हेमाटोलोजी एनालाइजर, सोडियम पोटासियम मेसिन र टेलि-इसिजी मेसिन जिल्ला अस्पताल पठाए।
जिल्ला अस्पतालका केही डाक्टरहरूलाई काठमाडौं बोलाएर तालिम दिए। मेसिन चलाउन सिकाए।
उनी आफैं पनि महिनामा २ पटक संखुवासभा जाँदा विभिन्न विज्ञ लिएर जान्छन् र त्यहाँका डाक्टर र प्राविधिकलाई मेसिनबारे आइडिया दिएर आउँछन्। अब जिल्ला अस्पतालमै आधुनिक डिजिटल कम्प्युटराइज्ड एक्सरे मेसिन भएपछि त्यहाँ गरेको बिरामीको एक्सरेलाई इन्टरनेटबाट उनी काठमाडौंमै बसेर हेर्छन्। विज्ञ डाक्टरलाई देखाउँछन् र बिरामीलाई यहीँबाट सल्लाह दिन्छन्। 'यसको फोटो राम्रो आउँछ। जिल्ला अस्पतालका एक्सेरेको फोटो नै बुझिँदैन। त्यो इन्टरनेटबाट सबैले हेर्न मिल्छ। जिल्ला अस्पतालमा रेडियोलोजिष्ट नभएपनि त्यहाँ काम गर्ने डाक्टरलाई सजिलो भयो नि', उनले भने।
यस्तै डाक्टरहरूलाई चाहिने आवश्यक पुस्तकहरू संकलन गरेर २ लाख रुपैयाँ मूल्य बराबारको मेडिकल लाइब्रेरी खोलेका छन्। अहिलेसम्म मुलुकका कुनै पनि जिल्ला अस्पतालमा नभएको लाइब्रेरीमा डाक्टरहरूलाई चाहिने आवश्यक पुस्तकहरू राखिएको छ।
त्यहाँ उनले २० सेकेण्डमै रगत जाँच्न मिल्ने हेमाटोलोजी एनालाइजर मेसिन पनि जडान गरेका छन्। यसबाट रगत जाँच्न सजिलो हुन्छ। ‘२० सेकन्डमा २२ वटा रिपोर्ट आउँछन्।', उनले आफूले चलाउँदै आएको मेसिन देखाएर भने। रगतमा सोडियम कति छ पोटासियम कति छ भनेर जाँच्नका लागि सोडियम पोटासियम मेसिन राखिदिए। 'यहाँ मात्र होइन संसारको कुनै पनि अस्पतालमा यही मेसिन प्रयोग हुन्छ, यो हेर्दा सानो भएपनि यसले महत्वपूर्ण काम गर्छ।', उनले हाँस्दै भने।
'इसीजी भएपनि त्यहाँ मुटुका डाक्टर छैनन्। अचेल मानिसहरुमा मुटुको समस्या बढ्दै गइरहेको छ, तर त्यहाँका डाक्टरमा यो विषयको दक्षतामा कमी छ, के गर्ने? त्यसकै लागि टेलिइसीजी मेसिन राखेर त्यहाँ गरिएको रिपोर्ट इन्टरनेटबाट पाँच जना डाक्टरकोमा जाने ब्यवस्था मिलाएका छन्।‘२ जना मेडिसिन डाक्टर दुई जना मुटुको डाक्टर र एउटा म कहाँ आउँछ।’, उनले भने,‘इन्टरनेटबाटै पढेर बिरामीलाई यो रोग लागेको छ यो औषधी गर भन्ने वा साह्रै रहेछ भने सल्लाह दिने गर्छौं।'
डाक्टर र औषधि उपकरणको अभावले संखुवासभाका धेरै मानिसहरू बाहिर जिल्लामा र राजधानीमा गएर उपचार गराउन बाध्य छन्। यस्तो अवस्थामा उनले साथीभाइबाट सरसापट र विदेशमा रहेका डाक्टरहरूको सहयोग लिएर लाखौं रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पुर्याएपछि भने, त्यो अस्पताल अहिलेका जिल्ला अस्पतालहरुमा मुलुककै सबैभन्दा सुविधा सम्पन्न अस्पतालको रूपमा उभिएको छ।
रोग पालेर बाँच्न बाध्य संखुवासभाका जनताले सरल र सुलभ मूल्यमा उपचार गर्न पाएका छन्। १५ शैयाको जिल्ला अस्पतालाई ५० शैयामा पुर्याएर एमडीजीपी प्रोग्राम चलाउने उनको अर्को इच्छा छ। यस्तै आफू जन्मिएको गाउँमा रहेको वाना हेल्थ पोष्टमा पनि उनले औषधि र उपकरण सहयोग गरे। तीनवटा गाविस वाना, स्यावुन र जलजलाको सीमामा पर्ने वाना हेल्थपोस्टमा उनले एम्बुलेन्सको ब्यवस्था गरेका छन्।
'एक्सरे मेसिन पनि राखेको छु, प्रयोगशाला, इसीजी, अक्सिजन र बेलाबेला यहीँबाट डाक्टर पठाइदिन्छु।', उनले भने, 'त्यो मेरो गाउँको अस्पताल हो नि त।’ अहिले चार जनाको दरबन्दी रहेको खाँदबारी अस्पतालमा बेलाबेलामा विज्ञहरू लिएर काठमाडौंबाटै पुग्छन् उनी।
त्यहाँ कुनै पनि उपकरणमा समस्या आएर उपचार गर्न असजिलो भएमा, ५० मिनेटमा काठमाडौंबाट विशेषज्ञ लगेर समास्याको समाधानका लागि खाँदबारी पुग्ने उनले बताए। अब ५० शैयाको जिल्ला अस्पताल भएपछि सिटी स्क्यान मेसिन जडान गर्ने उनको इच्छा छ। २५ लाख रुपैयाँ जम्मा भए, क्रेडिटमा भए पनि दुई करोड रुपैयाँ मूल्य बराबरको मेसिन राख्ने अठोट गरेको उनले सुनाए। एमडीजीपी प्रोग्राम लाने, विज्ञहरूलाई लिएर जाने। पनि उनका योजनामा छन्। ग्रामीण क्षेत्रका विद्यार्थीलाई सरकारले स्वास्थ्यकर्मी बनाउने वातावरण तयार गर्नुपर्ने उनको तर्क छ। उनी भन्छन्,'गाउँकै मान्छेलाई चिकित्सक उत्पादन गर्ने काममा सरकारले पहल गरे उनीहरू आफ्नै ठाउँमा फर्किन्छन्।’
***
चाबहिलमा रहेको हेल्पिङ ह्याण्डमा संखुवासभाका अधिकांश बिरामी आउँछन्। 'यहाँ आउनेले राहत पाउँछन्। यहाँ आउनेलाई मैले छुट दिन्छु। अस्पतालमा छुट हुन्छ। अप्रेशनमा पनि छुट हुन्छ। औषधिमा छुट हुन्छ।',उनले भने। 'रिसेप्सनमा जान्छ, पैसा पुगेन भनेर म कहाँ आउँछ, अनि १२ सय पुगेन भने १४ सय छुट गरिदिन्छु।', उनले भने, 'गरिब र असहायका लागि छुट गर्नै पर्छ, त्यसै पनि यो सामुदायिक अस्पताल हो।’
***
वैशाख १२ गतेको भूकम्पले धेरै पुरानो उनको अस्पताललाई केही भएन। भित्र रहेको इमर्जेन्सी बाहिर सारे। बिरामीको चाप थेगिनसक्नु आयो। तर पनि आएका जति सबैलाई उपचार गरेरै पठाए। त्यतिमात्र होइन, भूकम्प आएलगत्तै ८-१० ठाउँमा स्वास्थ्य सिविर चलाए। राजधानीको खोकना, लप्सीफेदी तथा धादिङ, सिन्धुपाल्चोक, दोलखा,रामेछापमा गएर स्वास्थ्य सिविर चलाए।
***
संखुवासभाका मात्र होइन उपचार खर्चको अभावमा बाँचिरहेका जुनसुकै ठाउँका दीन दु:खीहरूलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्न उनी सँधै तयार रहन्छन्।
प्रवर्द्धनमुखी सेवा प्रदान गर्ने उद्देश्य छ उनको। त्यसैले अस्पतालमा स्वास्थ्य जाँच ६० रुपैयाँमै गरिन्छ। जुन अहिलेको अवस्थामा निकै सुलभ हो । 'कसैले पैसा छैन भने पनि म नि:शुल्क उपचार गरिदिन्छु।',उनी भन्छन्। अहिलेसम्म त्यस्ता सयौं दीन दु:खीको उनले नि:शुल्क उपचार पनि गरिदिएका छन्। त्यसैले उनको अस्पतालमा झुत्रा-झाम्रा लुगा लगाएका, राम्ररी अक्षर नचिन्ने, चिकित्सकसँग बोल्न डराउने र आफ्नो रोग भन्न हिचकिचाउने ग्रामीण समुदायका मानिसको भीड देखिन्छ।
इमानदारी र पारदर्शीतालाई आफ्नो व्यवस्थापन मन्त्र ठान्ने श्रेष्ठ,समन्वायत्मक कार्यमा विश्वास गर्छन्। मिहनेती छन्, त्यसैको परिणाम मान्नुपर्छ १० लाख रुपैयाँको लगानीबाट शुरू गरेको उनको अस्पतालले अहिले १० करोड बराबारको पूर्वाधार खडा गरिसकेको छ। 'यो निरन्तर मेहनतको परिणाम हो।', उनी भन्छन् ।

0 comments:

Post a Comment