Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Monday, June 6, 2011

नहेरेमा पाप लाग्ला

On : 9:36 AM
In :

मूलधारको भनिने नेपाली फिल्ममा के-के हुन्छन् ? बासी प्रेमकथा, मारकाट अनि गाना-बजाना । शुक्रबारदेखि राजधानीका विभिन्न हलहरूमा प्रदर्शन भइरहेको 'छोडी गए पाप लाग्ला'ले भने यही फर्मुलाभित्र केही नयाँ गर्ने कोसिस गरेको छ । कथावस्तु, अभिनय र गीतदेखि प्रस्तुतिसम्मले दर्शकलाई दुई घन्टा १५ मिनेटसम्म हलभित्र बाँधिराख्ने क्षमता सक्छ । चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट फिल्मसहित सात विधामा र नेफ्टा अवार्डमा पाँच विधामा पुरस्कृत 'छोडी गए पाप लाग्ला' मोफसलपछि राजधानी पसेको हो ।
फिल्ममा भने कथानक राजधानीबाट मोफसलतिर पस्छ । घरबाट बिहे गराइदिन लाग्दा भागेर आफ्नो ब्वाइफ्रेन्ड भेट्न पोखरा पुग्छिन् डीआईजी (नीर शाह) की छोरी ईशा (सञ्चिता लुइँटेल) । पोखरामा रविन (राजबल्लभ कोइराला)सँगको भेटपछि कथाले गति लिन्छ । आफ्नो गर्लफ्रेन्डसँग बिहेका लागि गर्लफ्रेन्डको बुवाले 'जसरी भए पनि दुई वर्षभित्र पोखरामा घर बनाउनुपर्ने' सर्त राखेपछि रविन डेडलाइन पूरा गर्ने क्रममा जस्तो पायो त्यस्तै काम गर्दै हिँड्छन् । यही क्रममा रविनले पोखरा पुगेकी ईशाको ब्याग चोरी गर्छन् र भाग्छन् । ब्याग चोरिएपछि ब्वाइफ्रेन्डको ठेगाना समेत गुमाएकी ईशा संयोगवश रविनकै शरणमा पुग्छिन् र केही दिन रविनको डेरामा बस्छिन् । 

एक दिन ईशाले आफ्नो ब्यागभित्रको सामान रविनको किचेन र्‍याकभित्र भेटाउँछिन् र भनाभन चल्छ । रविनले आफ्नो प्रेमकथा र गर्लफ्रेन्ड पाउन यो सब गरेको बताएपछि प्रेमकै लागि भागेर पोखरासम्म आइपुगेकी ईशाको मन पग्लिन्छ र दुवैले एक-अर्कालाई सहयोगको सर्त राख्छन् । रविनले इशाका लागि जसरी पनि ब्वाइफ्रेन्डको ठेगाना पत्ता लाइदिने र ईशाले रविनको घर बनाउन सघाइदिने । यी दुई सर्त पूरा गर्ने क्रमकै वरिपरि कथानक घुम्छ र बीचमा केही उतारचढाव आउँछ, जसले आ-आफ्नो जोडी पाउने मिसनमा जुटेका रविन र ईशालाई नै अन्ततः प्रेमको एउटै विन्दुमा ल्याइपुर्‍याउँछ र दुवैजना प्रेममा फस्छन् । 

ब्वाइफ्रेन्ड खोज्दै पोखराबाट बाग्लुङसम्म पुगेकी ईशा ब्वाइफ्रेन्डलाई अर्कै केटीसँग भेटिएपछि बदलिन्छिन् । निराश भएर काठमाडौं फर्किन लाग्दा उनले रविनसँग गरेको वाचा सम्झिन्छिन् र पोखरा पुगेर रविनलाई घर बनाउन सघाउन थाल्छिन् । यही क्रममा दुवैजना पत्तै नपाउने गरी प्रेममा फस्छन् । हुनेवाला ससुरो (डीआईजी)को आदेशलाई शिरोपर गर्दै ईशा पछ्याउँदै गएका इन्स्पेक्टर विराज (विराज भट्ट) का सबै प्रयासहरू असफल हुन्छन् । 

केशव भट्टराईको प्रस्तुति रहेको 'छोडी गए पाप लाग्ला' मा उज्ज्वल घिमिरेको निर्देशन अन्य फिल्ममा भन्दा राम्रो लाग्छ । सञ्चिता लुइँटेल र राजबल्लभको अभिनयले मन छुन्छ । विराज छोटै भूमिकामा भए पनि फिल्मको अन्त्यतिर उनी हावी हुन्छन् र ईशाका लागि राज र उनीबीच भएको प्रेम-संघर्षमा उनी हार्छन् । पोखरा र आसपासको सुन्दर दृश्य हेर्न पाउने फिल्मको छायांकनमा पनि दीपक बज्राचार्यले प्रशंसनीय काम गरेका छन् । पाँच गीतमध्ये शीर्षगीत 'छोडी गए पाप लाग्ला...' र 'आयो तिम्रो याद आयो...' निकै मन छुन्छ । 'आयो तिम्रो याद...' बाट संगीतकार सुरेश अधिकारीले उत्कृष्ट संगीतकार, दीपक लिम्बूले उत्कृष्ट गायक र अन्जु पन्तले उत्कृष्ट गायिकाको राष्ट्रिय अवार्ड थापेका थिए भने शीर्षगीतबाट रामकृष्ण ढकालले नेफ्टा अवार्डअन्तर्गत उत्कृष्ट गायक । 

प्रदीप भारद्वाजको लेखन, हिमाल केसीको द्वन्द्व रहेको फिल्मका केही कमजोरी पनि छन् । आफ्नै ब्याग चोरी गर्ने पकेटमारका लागि घरै बनाइदिन एउटी युवती तम्तयार हुनु, लामो समय उनीहरू एउटै घरभित्र उठबस गरिरहनु र त्यस्ती युवतीलाई विराजले सहजै स्विकारेर बिहे गर्न राजी हुनु, बिहेमा निर्बाध रविनले प्रवेश पाउनु र उल्टै विराजसँग रक्सी पिउने पार्टनर हुनुजस्ता सन्दर्भ अस्वाभाविक झैं लाग्छन् । बाटोमा संयोगले भेटिएकी केटीलाई रविनले ब्वाइफ्रेन्डको घरसम्म पुर्‍याइदिएर बाहिरैबाट मलिन अनुहार बोकेर फर्केको दृश्य र ब्वाइफ्रेन्ड अर्कै केटीसँग सुतिरहेको देखेपछि रिसले चुर भएर फर्केकी ईशालाई सिरानीमा मुक्का हान्न लाएर रिस बिर्साउने तरिका सिकाइरहेको दृश्य हिन्दी फिल्म 'जब वि मेट'बाट सापटी लिएको जस्तो देखिन्छ । 
यसै त नेपाली फिल्म बलिउडबाट प्रभावित छन् नै, फर्मुला शैलीमै बनेको भए पनि 'छोडी गए पाप लाग्ला'मा चित्तबुझ्दो नेपाली कामको बास्ना पाइन्छ । 

फिल्म समीक्षा

छोडी गए पाप लाग्ला

निर्देशक : उज्ज्वल घिमिरे

कलाकार : विराज भट्ट, राजबल्लभ कोइराला, ऋचा घिमिरे, सञ्चिता लुइँटेल

0 comments:

Post a Comment