Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, June 28, 2011

बदनाम नहोस् प्लस टु

On : 10:00 AM
In :
वैशाख १० गते प्रहरीले सुन्धारास्थित बेबिलोन डिस्कोबाट ५३ जना किशोरकिशोरीलाई पक्राउ गर्‍यो।०६६ चैतको पहिलो साता बेबिलोनबाटै रक्सी, चुरोट र लागू पदार्थको नशामा आपत्तिजनक अवस्थामा ३ सयको हाराहारीमा समातिए। उनीहरूका कारण प्लस टु पुस्तासँग जोडिएको एउटा पाटो उदांगियो।

गत वर्ष नै ट्राफिक प्रहरीले प्लस टुका विद्यार्थीलाई लक्षित गरेर विभिन्न प्वाइन्टमा छड्के जाँच थाल्यो। असुरक्षित ढंगले ओभरटेक गर्ने, तीव्र गतिमा मोटर साइकल चलाउने मात्रै होइन, विना लाइसेन्स सवारी चलाउने पनि अधिकांश प्लस टुकै विद्यार्थी थिए। गिरफ्तार भएका अधिकांश कलेजको पोसाकमा थिए।


यस्ता समाचार सार्वजनिक भएपछि प्लस टु सञ्चालकले कलेजमा बाइक लान नपाइने जस्ता नियम लगाएर असुरक्षित ड्राइभिङ निरुत्साहित गराए।

डेढ वर्षअघि काठमाडौंका गोल्डेनगेट कलेजको कक्षा ११ मा पढ्ने एक किशोरले गर्लफ्रेन्डसँगै पढ्नका लागि आफ्नै अपहरणको नाटक गरेको रहस्य खुल्यो। बाबुले मोटर साइकल नकिनिदिएको झोंकमा सिनामंगलका पोखरेल थरका एक किशोरले साथीको सहयोग लिएर अपहरणको नाटक गरेर आफ्नै खातामा पैसा हाल्न लगाए।

नकारात्मक परिस्थिति झल्काउने यी उदाहरण प्लस टु शिक्षा पुस्तासँगै हुर्किएका विकृतिका तस्बिर हुन्। शिक्षाविद्हरू विद्यार्थीलाई गलत मार्गबाट बचाउने उपयुक्त किसिमको काउन्सिलिङको आवश्यकता औल्याउँछन्।

सरकारले यसै वर्षदेखि प्रवीणता प्रमाणपत्र तह खारेज गरेपछि अब उच्च शिक्षाका लागि विद्यार्थीहरूसँग प्लस टुको विकल्प छैन। शिक्षाविद्हरूका बुझाइमा विद्यालयको शैलीमा सिकाइ प्रक्रियाका कारण प्लस टु शिक्षाले जुन आधारमा शिक्षण सिकाइलाई सरल बनाएको छ, प्लस टुसँगै आएका विकृतिले पुस्ता नै बदनाम हुने खतरा पनि उत्तिकै छ।

दसवर्षे स्कुले शिक्षा पार गरेका २ लाख ३० हजार विद्यार्थी उच्च शिक्षाका लागि प्लस टु कलेज पढ्ने तरखरमा छन्। केही प्रतिशत विद्यार्थीका लागि आफूले पढेकै विद्यालयमा विषय वा अवसरका हिसाबले प्लस टु पढ्ने अवसर होला। ठूलो संख्याका विद्यार्थीहरू भने उच्च शिक्षाका लागि आफ्नो गाउँसहर, विद्यालय र साथी सर्कल छाडेर जानेछन्।

विद्यालय जीवनमा हिँडेको सरल बाटो बदलिँदा अवसरका मैदान जति खुला हुनेछन्, चुनौतीका पहाड त्यत्तिकै ठडिएका हुन सक्छन्। कपाल पाल्ने, कानमा मुन्द्री लगाउने, प्रेमका नाममा जन्मिने यौन विकृति र उच्छृंखलता, लागु औषध दुर्व्यसन, कक्षा हाप्ने संस्कृतिलाई धेरैले प्लस टुले ल्याएका विकृतिका रूपमा लिने गरेका छन्।

सरकारी वा गैरसरकारी क्षेत्रका तथ्यांकहरूमा समेत धूमपान, लागु औषध, अपराध, दुर्घटनामा प्लस टु पुस्ताको नकारात्मक छवि अंकित भइसकेको छ। विभिन्न सरकारी निकायहरूले प्लस टु पुस्ता भनेर यस्ता सामाजिक विकृतिका छुट्टै रेकर्ड नराखेपछि व्यवहारतः सामाजिक विकृतिबाट बच्न प्लस टु पुस्तालाई सचेत गराउनुपर्ने अवस्था आइसकेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जगतमान श्रेष्ठका अनुसार सहरमा हुने दुर्घटनामा प्लस टु पुस्ता कति छ भनेर छुट्टै तथ्यांक राख्ने चलन छैन। तर, दुर्घटनाका पीडक र पीडित दुवै धेरैजसो १९ देखि ३१ वर्षका हुन्छन्।


केही समयअघि उनीहरूलाई लक्षित गरी गरिएको चेकजाँचमा लाइसेन्सै नबोकी तीव्र गतिमा सवारी चलाउनेमा प्लस टुका युवा बढी पाइएको श्रेष्ठले बताए। 'हामी कलेज ड्रेसमा रहेकालाई चेकजाँच गरेर निरुत्साहित गरे पनि लाइसेन्स लिइसकेपछि चलाउनै छोड भन्न सक्दैनौं,' उनले भने, 'कलेजहरूले पनि पार्किङ नदिएर वा रोकै लगाउनुभन्दा पनि अनुशासित किसिमले सवारी चलाउन प्रोत्साहन हुने गरी काउन्सिलिङ गर्नुपर्ने हो।'


कलेज सञ्चालकहरूले कमाउनेबाहेक यस्ता विद्यार्थीको भावना, अवस्था बुझेर काउन्सिलिङको ढंग प्रदर्शन गर्न नसकेर प्लस टु कतिपय अवस्थामा विकृतिको घर भनेर परिभाषित भएको टिप्पणी गर्छन्, शिक्षाविद् विद्यानाथ कोइराला।

'असुक्षित सवारी नचलाऊ भन्दा पनि तिमीलाई केही भइहाल्यो भने, तिम्रा बाबुआमाले तिमीबाट कति आशा राखेका छन्, तिमीलाई केही भए उनीहरू के गर्लान् भनेर सम्झाउनु र सम्झाउनुपर्छ,' कोइरालाले सुझाए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययनमा सहरी क्षेत्रका २० देखि ३० प्रतिशत युवतीहरु १७ वर्षको उमेरमा र युवाले २० वर्षमा धूमपान सुरुआत गरेको देखिएको छ। यो प्लस टु पढ्ने उमेर हो।

सहरी क्षेत्रका अधिकांश कलेज वरपरका चिया घरमा नियाल्दा पनि कलेज ड्रेसमै युवायुवती धूमपानमा मग्न देखिन्छन्। नेपाली समाजमा बढ्दो मदिराको संस्कृतिले पनि किशोरकिशोरीहरूलाई आकर्षित गर्दै लगेको छ। कलेज पोशाकमै धाउने प्लस टुका विद्यार्थीबाटै राजधानीका धेरै फिल्म हल चलेका छन्।

मनोचिकित्सकहरूका अनुसार यसै पनि पछिल्लो पुस्तालाई टेलिभिजनमा देखिने हिंसात्मक दृश्यले नकारात्मक असर पारेको छ। प्रहरी अनुसन्धान अनुसार युवा पुस्ता हिंस्रक, सनकी र लडाकुसमेत बन्दै गएको छ।

खासगरी प्लस टु पुस्तालाई विकृतिको बाटोबाट जागाउन उनीहरू, आफै, अभिभावक र कलेज सञ्चालकहरूले ध्यान दिनुपर्नेमा धेरैको सहमति छ। युवावस्थामा बाबुआमाभन्दा बढी विश्वास साथीलाई गर्ने उनीहरुको स्वभावै हो। विद्यालय जीवनमा पढाइमा राम्रो गरिरहेका समेत कलेज जीवनमा आएपछि नराम्रो बाटोमा लागेका उदाहरण प्रशस्त छन्।
लागु औषधविरुद्ध कार्यरत संस्था नार्कोनन नेपालका निर्देशक वसन्त कुँवरको भनाइमा शैक्षिक संस्थाहरू लागु औषधका अपराधीको सबैभन्दा ठूलो लक्षित क्षेत्र हो। स्कुल, कलेजका मात्रै १ लाख ७ हजार विद्यार्थी यस्तो दुव्यर्सनमा फँसेका छन्।

कलेज जाँदै गरेका विद्यार्थीलाई त्यस्ता मान्छे चिन्ने ज्ञानसँगै भर्ना लिनुअघि र बीच/बीचमा लागु औषध सेवन गरे, नगरेको परीक्षणमा ध्यान दिनुपर्ने उनको सुझाव छ। 'एकजना दुर्व्यसनीले ४८ जनालाई आफूजस्तै बनाउन सक्छ,' कुँवरले भने, 'ड्रगका विक्रेताहरू सुरुमा विद्यार्थीसँग जे समस्या छ, त्यो समस्याको समाधान यही हो भन्दै ड्रग खुवाउँछन्।'

कुँवरका अनुसार डर लाग्छ भन्यो, यो खा लाग्दैन् भन्छन्। लाज लाग्छ भन्यो यसले लाग्दैन भन्छन्। पढ्न मन लाग्दैन भन्नेलाई पनि यसले लगाउँछ भन्छन्। विद्यार्थीलाई पनि यस्ता कुराको काउन्सिलिङ गरेर सचेत गराउनु कलेजहरूको दायित्व हो।

लागु औषध महँगो भए पनि यसका विक्रेताले सुरुमा निःशुल्क खुवाइदिन्छन्। यसको लत लागेपछि उसले कुनै हालतमा पैसा जुटाउँछ। किनकि दुर्व्यसनमा फसेपछि उम्किन सहज छैन। लागु औषधको कुलतबाट बचाउन रणनीति बुनाउने, छोराछोरीले लागु औषध खान्छ कि खाँदैन भन्ने बाबुआमाले थाहा पाउने, ड्रग खाएपछि कहाँ पुर्‍याउने जस्ता जानकारी कलेज र अभिभावकमा हुनुपर्छ।

शिक्षाविद् कोइरालाको भनाइमा प्लस टु जाने १६ देखि २० का युवा/युवती उरन्ठेउला स्वभावका हुने भएकाले उनीहरूमा परीक्षण गर्ने रहर हुन्छ। यही रहरले राम्रो/राम्रो परीक्षण गरे त्यसैमा रमाउन र मज्जा लिन सिकाउँछ भने नराम्रो परीक्षण गरे, नराम्रो बाटोमा लगाउँछ।

'खा न खा यार के हुन्छ र भनेपछि जे पनि खाइदिन्छ र गर भनेपछि गर्छ पनि,' उनले भने, 'उनीहरुलाई झुक्याएर खान देलान्, फँसाउलान् भन्ने बुद्धि पनि दिनुपर्छ।'

विद्यार्थी आफैले पनि आफ्नो समीक्षा गर्ने र परिवारले पनि बढी विश्वास गरेर छाड्नुभन्दा आनीबानी, स्वाभाव, कार्यशैलीमा आएको परिवर्तन विश्लेषण गरेर ख्याल राख्न सके विकृतिको बाटोबाट जोगाउन सकिने विज्ञहरूको भनाइ छ।

'बाबुआमा छोराछोरी सानै छ भन्छन्, प्लस टु पढ्ने उमेरका चाहिँ आफू ठूलो भएँ भन्ठान्छन्,' कोइरालाले भने, 'अभिभावकले पनि उनीहरू तिमी ठूलो भयौ, जुँगाका रेखी बसे, उमेरका हिसाबले पनि तिमी देशको पूर्ण नागरिक बन्यौ, तिम्रो दायित्व र कर्तव्य धेरै छ भनेर बुझाउनुपर्छ।'

शिक्षाविद् कोइराला त बंक संस्कृतिभित्र पनि शिक्षकको दोष देख्छन्। किनभने बंक गरेका विद्यार्थीलाई सोध्यो भने कक्षामा पढाउने कुरा त आफूलाई आइहाल्छ नि भन्छन्। कक्षामा बसेर पढ्न इच्छा जगाउन सक्ने क्षमता शिक्षकमा चाहियो।

मनोचिकित्सकहरूको भनाइमा केटालाई केटी आकर्षित गर्न जिब्रो पड्काउनुपर्छ वा कपाल पाल्नुपर्छ वा मुन्द्री लगाउनुपर्छ भन्ने छाप पर्‍यो भने, त्यस्तै कुरामा लाग्छ। फेसन बदलिने र बदल्न सकिने कुरा हो। कलेजवालाहरूले यस्ता खालका नकारात्मक चिन्तन बदल्ने प्रयास गर्न सकेको छैनन्।

ओरियन्ट कलेजका सञ्चालक सुशील दाहाल कलेजले पनि असल नागरिक र पुस्ता निर्माणका लागि सघाउन सक्ने कुरामा सहमत छन्। 'कलेजहरू नै प्रतिस्पर्धाका नाममा एसएलसीमा धेरै नम्बर ल्याउनेको घरमा जान्छन्। पैसा र सुविधाको लोभ देखाएर तान्न खोज्छन्, यहीँबाट अपराधको सुरुआत हुन्छ,' दाहालले भने, 'मिनी स्कर्ट नभएको कलेज नपढ्ने, बाइक नभई नहुने, गर्ल फ्रेन्ड/ब्वाई फ्रेन्ड हुनैपर्ने र नहुनु प्रतिष्ठाको विषय बन्ने जस्ता चिन्तनको सुरुआत यहीँबाट हुन्छ।'

दाहाल केही निजी कलेजको बदमासीका कारण आम विद्यार्थीमा ज्ञान, सीप, संस्कारभन्दा पैसा नै ठूलो रहेछ भन्ने पर्दै गएको र त्यसले असल नागरिक तयार पार्न प्लस टुले सघाइरहेका छैनन् कि भन्ने परिदिएको टिप्पणी गर्छन्।                                                                             साभार : नागरिक दैनिक,दिपक दहाल

0 comments:

Post a Comment