Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Sunday, April 10, 2011

भक्तपुरको विस्केट जात्रा

On : 10:04 AM
In :
–आफ्नै मौलिक परम्परा र रितिरिवाजनुसार मनाईने बिस्केट जात्राको सुरुआत  धुमधामले भइरहेको छ। भक्तपुर जिल्लाको ठिमी र भक्तपुरमा मनाईने यो जात्रा दशैपछिको दोश्रो ठूलो चाडको रूपमा यहाँका सथानियले लिने गरेका छन्।
देशको संस्कृतिलाई चिनाउने केही महत्वपूर्ण मेला र जात्राहरु मध्ये बिस्केट जात्राको नाम पनि मुख्य रुपमा लिने गरिन्छ। ठिमीमा बालकुमारी देवीको जात्रा गरेर बिस्केट मनाउने चलन छ। भक्तपुरमा लिंगो ठड्याउने, ढाल्ने र रथ जुधाउने परम्परामा आधारित छन्। परम्परागत बिस्केट जात्रामा स्थानीय टोलबासीहरु उत्सुकतापूर्वक सहभागी हुन्छन्।
चैत्र मसान्तको चारदिन अघिदेखि आठ दिनसम्म विभिन्न साँस्कृतिक गतिविधि संचालन गरी मनाइने यो जात्रा अन्य साँस्कृतिक जात्रा भन्दा बेग्लै महत्व रहेको पाइन्छ। नयाँ वर्षको खुशीयाली सँगै परम्परागत जात्रा सँस्कृतिलाई निरन्तरता दिन कस्सिएका उनीहरुलाई नौ दिन आठ रातसम्म भ्याइनभ्याइ हुन्छ।


ठिमीको बिस्केट

 भक्तपुर जिल्लाको ठिमीमा यस प्रसिद्ध बिस्केट जात्राको तयारी एक हप्ता अघि देखिनै भएको थियो । जात्राको पहिलो दिन जात्रा गर्नुपर्ने देवताहरुको गहना निकालीन्छ । जसमा प्रथमत जात्राका देवीहरुमा प्रमुख मानिनेबालकुमारी' को गहना सबैभन्दा पहिला निकाल्ने प्रावधान छ। गहना निकाल्ने यही दिन देखि ठिमीमा बिस्केट जात्रा प्रारम्भ भएको मानिन्छ। यसैदिनबाट ठिमी स्थित बालकुमारी देवीसँग सम्बन्धित नाइकेहरुले जात्राको पूरा प्रक्रिया नसिद्धिए सम्म छालाको जुत्ता निषेध गरिएको हुन्छ। मुख्यत चैत्र मसान्तको दिन देखि शुरुहुने जात्राको प्रथम दिन प्रत्येक टोल–टोल र मन्दिरहरुको अगाडि साँझ गोलो काठ बालिने चलन छ।

यसैदिन साँझतिर वैष्णवी (सुँगा :  द्य) जात्रा गरिन्छ। यहीदिन देखि त्यहाँ सिन्दूर जात्राको शुरुवात हुन्छ। बेलुका ठिमीको विभिन्न टोलहरु तथा मन्दिरहरुमा गुठीयारहरुको पालो परेको घरबाट मुल देवता झिकी धिमेबाजा सहित जात्रा गरेर सो मूल देवतालाई सम्बन्धित मन्दिरमा लगेर राखिन्छ। यो रात बलि चढाइने र रातभर भजन गान गरिन्छ। यही दिनको मध्यरात करीब १/२ बजे लाय्कू दरबारबाट बालकुमारी खटमा राखी विभिन्न बाजागाजा सहित प्रत्येक घरबाट 'चिलांक' अर्थात राँको बालेर आई जात्रामा सहभागी हुँदै बालकुमारी मन्दिरमा “बालकुमारी” को मुल देवता पुर्‍याइछ। सो जात्रालाई स्थानीय भाषामा बालकुमारी कुहाँ विज्याइगु जात्रा भनिन्छ।
 यस बेलाको एउटा रोचक पक्ष के छ भने बालकुमारीको खट बोक्न सबैले नाँगो खुट्टा र अनिवार्य रुपमा ढाकाको टोपी लगाउनु पर्छ। यसरी ठिमीको प्रमुख बालकुमारीको जात्रा सकिए लगतै दक्षिण बराही, हरिसिद्धी र अजिमा खटमा राखेर क्वाछें स्थित दक्षिण बराही मन्दिर घुमाएर ल्याई बालकुमारी देवताको अगाडि बिसाइन्छ। यही रात पश्चात नव वर्ष प्रारम्भ हुन्छ। बैशाख संक्रान्ति पनि भनिने यो दिन बिहान ६ बजे देखि घर–घरबाट बालकुमारीको गहना देवताको मन्दिरमा चढाउन ल्याइन्छ। साथै सोही दिन साँझ ४–५ बजे चैत्र मसान्तमा टोल–टोलका मन्दिरमा राखिएका मुल देवता आफ्नै खटमा राखी धिमेबाजा सहित चिंलाक र सिन्दूर जात्रा गरिन्छ। यसै दिन विष्णुवीरको जात्रा र सिद्धिकालीको जात्रा पनि सम्पन्न गरिने चलन छ।

भोलिपल्ट बैशाख २ गते बिहानै देखि देवताका खटहरु अबिर, चिलाकः, धिमेबाजा, नायोखी बाजा बजाई जात्रा गरेर बालकुमारी मन्दिर अगाडि ल्याइन्छ। बालकुमारी देवताका नाइकेहरुले विभिन्न देवी देवताहरुको जात्रा शुरु गर्न अनुमतिमा बालकुमारी सहित सबै देवताका खटहरु जात्रा गरी दिगुटोलको भैरवनाथ मन्दिर सम्म २/३ पटकसम्म घुमाइन्छ। यो क्रममा आफू आफूमा अबिर छर्केर बाजा गाजा सहित हर्षोल्लास गरिने चलन छ। स्थानीयहरुका उत्साहजनक सहभागिता रहने यो जात्रालाई बालकुमारी बिज्याइगु भनिन्छ। र, त्यसैलाई ठिमीको बिस्केट जात्रा भनिन्छ।
 यो दिन नै बिस्केट जात्राको प्रमुख दिन हो। यसैदिन ठिमीको चर्चित नगर बोडेमा परम्परागत जिब्रो छेड्ने जात्रा गरिन्छ।'' गत वर्ष पनि जुजुभाई श्रेष्ठले जिब्रो छेडाएका थिए।

बैशाख ३ गते बेलुकातिर पनि स्थानीय २ गणेशको खट यात्रा गरिन्छ। यस्तै ४ गते बेलुका दक्षिण बराही र हरिसिद्धीको जात्रा गरे पश्चात यस दिन देखि बिस्केट जात्रा समाप्त हुन्छ।  बिस्केट जात्राको अवधिभरमा जात्रा गर्न ल्याइने देवी–देवताका खटहरु नगदेश र बोडे सहितको गरी पहिले ३२ खटहरु हुन्थे। तर हिजोआज जात्रामा १७–१८ खटहरु मात्र रहने गरेको स्थानीय श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो।


भक्तपुरको विस्केट

'भक्तपुर मुलकाहरुले समेत आफ्नै तरिकाले परम्परागत यो बिस्केट जात्रा धुमधामका साथ मनाउँछ। भक्तपुरमा बिस्केट जात्राको रोचक पक्ष भनेको लिंगो ढाल्ने र भैरवनाथको रथ तान्ने एक हो। नगरको तल्लो र माथिल्लो टोलबासीहरुले न्यातापोल मन्दिरको आँगनबाट रथलाई आफ्नो तर्फ तान्ने परम्परा छ।

बिस्केट जात्राको ऐतिहासिकता बुझ्ने क्रममा यो जात्रा मल्लकाल पूर्व नै अस्तित्वमा आइसकेको अनुमान र यो जात्रा सर्पसँग जोडिएको किंवदन्ती पाईन्छन्। लिच्छिवीकालका राजा शिवदेवको पालामा भक्तपुर नगर रक्षक एक तान्त्रिक शेखर आचाजु थिए। शेखर नामका ती तान्त्रिकले जुनसुकै रुपधारण गर्न सक्थे। एक दिन स्वास्नी आग्रह तार्न नसकी उनले अजिंगरको रुप देखाए। अजिंगरको भयानक रुप देखेर उनको होसहवास गुम भयो र अजिंगरलाई हिर्काउनुपर्ने अक्षता आफैले खाइदिइन्। जसले गर्दा ती दुवै दम्पती अजिंगर भए। कसैले पनि पूर्वरुपमा नफर्काइए पछि उनीहरुले हालको चुपीघाटमा आत्महत्या गरेका थिए। यसरी आत्महत्या गरेपछि तान्त्रिक दम्पतीको स्मृतिमा बिस्केटको लिंगो ठडाउने परम्परा बसेको भन्ने जनविश्वास रही आएको छ।

उक्त जात्रालाई बिरमदेवीले जात्रालाई निरन्तरता दिएकी थिइन्। अजिंगरलाई मारी शुरु भएको यो जात्रा हेर्न काशीबाट विश्वनाथ भैरब भक्तपुर आएपछि लिंगो जात्रा सँगसँगै भैरवनाथको रथ तान्ने जात्रापनि शुरु भएको जनश्रुति छ। शुरुशुरुमा लिंगो ठडाउने जात्रा सँगै भद्रकालीको मात्र जात्रा हुने गर्थ्यो। भद्रकाली र लिंगो ठड्याउने जात्रा भइरहेको बेला काशी विश्वनाथ भैरव पनि जात्रा हेर्न भनी भक्तपुर आउँदा एक तान्त्रिकले भैरव बाँधे पछि जमिनमुनिनै लुप्त हुन खोजेको बेला उक्त तान्त्रिकले हसिँयाले घाँटी काटेका थिए। र, तान्त्रिकहरुले भक्तपुरमा नै भद्रकाली सँग बिहे गरेर बस्न अनुरोध गरेपछि भैरबको जात्रा शुरु भएको कथन छ। त्यसैले अद्यापी भक्तपुरमा शरीर विहिन भैरबको पूजा गरिन्छ।

नालाको वनबाट ५५ हाते अग्लो सल्लोको रुख लिंगो ठडयाउन ल्याइन्छ। जसमा अजिंगरको छाला टाँगिन्छ। भैरबको समेत जात्रा शुरु भएको केही काल पछि रथमा राजा (राज प्रतिनिधि) काजी (प्रधानमन्त्री), भैरबनाथका नाइकेहरु, पुजारीहरु, ज्योतिष, सिकर्मी, भैरबलाई जीवन्यास गर्ने तान्त्रिक समेत १८ जना सोही रथमा बसी रथ जात्रामा भाग लिने परम्परा कायम भयो। हाल रथमा राजाको स्थानमा खड्ग राखेर संचालन गर्ने गरेको पाइन्छ।
भक्तपुरको भेलुखेलमा ठड्याइएको लिंगो बैशाख १ गते ढालेपछि सोही दिन भैरव र भद्रकालीको रथ तान्दै गा :  हिटीमा पुर्‍याइन्छ। यो जात्रामा लिंगो ढाल्दा र ठड्याउँदा अस्टमातृकारुपी आठ वटा डोरी प्रयोगमा ल्याइन्छ। ती आठवटा मध्ये कुनैपनि डोरी चुँडिएको खण्डमा र लिंगो ठडयाउँदा र ढाल्दा पनि लिंगो भाँचियो भने राष्ट्रलाई हानी हुन्छ जनविश्वास रहेको छ। कदमकदाचित लिंगो भाँचियो भने परम्परानुसार क्षमा पूजा गरिने चलन छ।

विशेषगरी नेवार जातिले आफ्नै जीवन्त परम्पराको रुपमा बचाइरहेको बिस्केट जात्रामा नौ दिन आठ रातसम्म हरेक टोल र घर–घरमा भोज खाने र खुवाउने प्रचलन छ। यही बिस्केट जात्रालाई नेपालको एउटा महत्वपूर्ण संस्कृति परिचयको रुपमा लिन सकिन्छ। परापूर्वकाल देखि जारी पराम्परागत बिस्केट जात्रा अझ बढी परिस्कृत एंव परिमार्जनको बाटो दिइनु सम्बन्धित पक्षको दायित्व रहनुपर्छ।

'मलाई यसबारे विस्तृत जानकारी दीनुहुने स्थानीय ठिमीबाट जीबनलाल श्रेष्ठ र भक्तपुरबाट हस्त शाक्य।'

0 comments:

Post a Comment