Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, April 5, 2011

फोहोरलाई बनाऔँ मोहर

On : 10:32 AM
In :
काठमाडौँ उपत्यकामा फोहोरमैलाको समस्या कुनै नयाँ खबर होइन। उपत्यकामा भएको फोहोरको डड्गुरले राजधानीलाई दुर्गन्धीत मात्र बनाएको छैन, प्रदूषणको बढोत्तरीले अनेक किसिमका रोगहरु समेत फैलन थालेका छन्। फोहोर व्यवस्थापनमा हुने गरेको राजनीति, आन्दोलन र अवरोधले काठमाडौँ दिनप्रतिदिन प्रदूषित र दुर्गन्धित हुन थालेको छ। राजधानीका गल्लीगल्लीमा छरिएका फोहोरले काठमाडौँवासीलाई नाक थुनेर हिँड्न बाध्य बनाइरहेको छ भने बाह्य पर्यटकका लागि ज्यादै असह्य विषय बनेको छ। काठमाडौँका सडक र नदीहरु हिजोआज फोहोर र ढल थुपार्ने डम्पिङ साइट बन्न थालेका छन्।


वास्तवमै यी फोहोरका डङ्गुरले वातावरणलाई दूषित बनाउनुका साथै हाम्रो सभ्यतामाथि समेत ठूलो प्रश्नचिह्न खडा गरेको छ। दैनिक ४०० देखि ५०० टनभन्दा बढी फोहोरमैला निस्किने काठमाडौँ उपत्यका देशकै सबैभन्दा धेरै फोहोरमैला उत्पादन हुने क्षेत्र हो। तर यहि फोहोरबाट मोहोर बनाउन सकिने तथ्यप्रति निष्ठावान् हुने हो र अन्य मुलुकका ज्ञान ,सीप र प्रविधिको अनुशरण हुने हो भने स्थानीय वासिन्दा मात्र होइन, यहि फोहोरले मुलुकभरि नै विशेष योगदान पुर्‍याउन सकिन्छ।

काठमाडौँमा देखिएका फेहोरहरुको डङ्गुरको मुख्य स्रोत घरायासी फोहोरमैला नै हुन्। आफूले गरेको फोहोर समेत आफैँले तह लगाउन नसक्ने उल्टै सरकारले आएर फोहोर तह लगाइदेओस् भन्ने सोच्नु साँच्चै नै आफ्नो जिम्मेबारीबाट पर सर्नु हो। हरेक दिन बिहान सिट्ठी फुक्दै फोहोर लैजाने मान्छे आँउदा हत्तपत्त अताल्लीएर घरको फोहोर फाल्न सबैलाई हतार हुन्छ तर यसलाई धन आर्जन गर्ने माध्यम पनि बनाउन सकिन्छ भन्ने तर्फ सबैको ध्यान जान सकेको छैन।

घरेलु फोहोरहरुलाई घरमै कुहाएर कम्पोष्ट मल बनाउन सकिन्छ। यसले फोहोर व्यवस्थापन हुनुको साथसाथै हाम्रो जस्तो कृषिप्रधान देशमा मलको माग केहि मात्रामा भए पनि पूर्ति गर्न सकिन्छ। बर्षेनि करोडौँ रुपैंया मूल्य बराबरको मल अन्य मुलुकबाट नेपाल भित्रिने गरेको अवस्थामा यसतर्फ ध्यान दिने हो भने यहीँको फोहोरमैलाबाट मल उत्पादनमा हामी आत्मनिर्भर बन्न सक्छौँ।

सहरी क्षेत्रबाट निस्केका अधिकतम फोहोरमैला कुहिने प्रकृतिका पाइएको छ भने अरु धेरैजसो फोहोर पनि पुन प्रयोग तथा रि–साइकल गर्न सकिने खालको छ। थोरै मात्र ल्यान्डफिल्ड साइटसम्म पुर्‍याउन योग्य छन्। कुहिने र सड्ने फोहोरमैलामा विभिन्न किसिमका कीरा र ब्याक्टेरिया हुन्छन् जसले माटोको उर्वरा शक्ति बढाउनुका साथै उत्पादनमा पनि वृद्धि गराउँछ। घरायसी फोहोरमैलालाई वैकल्पिक स्रोतको रुपमा प्रयोग गरेर बायोग्याँस तथा  ऊर्जा पनि प्राप्त गर्न सकिन्छ। सम्बन्धित निकायमा गएर सल्लाह र सुझाव लिई आफ्नै घरबाट निस्किएको फोहोरबाट बायोग्याँस बनाउने प्रविधि एकदमै सरल, सस्तो र सर्वसुलभ पनि छ। यसले एकातिर खाना पकाउने ग्याँसको खपतमा कमी ल्याउँछ भने अर्कोतिर घरायसी प्रायोजनबाट निस्किने कुहिने फोहोरमैलालाई उचित व्यवस्थापन गरी सहरी वातावरणमा सुधार ल्याई वातावरण स्वच्छ, सफा र सुन्दर राख्न पनि सहयोग गर्छ।

त्यसैले काठमाडौँलगायतका सहरका फोहोरमैला व्यवस्थापन चुस्त तथा प्रभावकारी बनाउन र फोहोरबाट मोहोर आर्जन गर्न योग्य तथा दक्ष जनशक्तिको प्रयोग, उचित तालिमको व्यवस्था, स्रोत साधनको आवश्यक व्यवस्थापन, जनसहभागिता साथै व्यवसायमूलक शिक्षा नितान्त आवश्यक छ। बर्सेनि करोडौँ रुपैयाँ खर्चेर अहिलेको जस्तो अनुत्पादक तरिकाले फोहोर व्यवस्थापन गर्नुभन्दा निजी क्षेत्रलाई फोहोर व्यवस्थापन गर्न जिम्मा दिई फोहोरबाट धन उपार्जन गर्नेतर्फ पनि सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ।

0 comments:

Post a Comment