अस्पतालमा बाहेक अन्य कुनै स्थानमा एम्बुलेन्स देख्नेवित्तिकै तपाईंको मनमा के सोचाइ आउँछ ? पक्कै पनि कुनै मानिस बिरामी परेर अस्पताल लैजान लागेको होला भन्ने सोचाइ आउन सक्छ ।तर, अब भने तपाइ हाम्रो यो सोचाइ गलत पनि हुन सक्छ, किनकि आजभोलि एम्बुलेन्सको प्रयोग जुनसुकै कामका लागि पनि हुन थालेको छ । बिरामीलाई अस्पताल पुर्याउनका लागि प्रयोग हुने एम्बुलेन्स आजभोलि तरकारी बेच्ने, बोक्ने तथा पिकनिक जानेजस्ता कार्यमा पनि प्रयोग हुन थालेका छन् ।
बिहान तरकारी बजारमा जाने हो भने तरकारी ढुवानी गर्दै गरेका एम्बुलेन्सलाई देख्न सकिन्छ । काठमाडौँ उपत्यकामा रहेका मगर सेवा समाज, सुनुवार सेवा समाज, यादव सेवा समाजलगायत नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्स बढी दुरुपयोग भएको देखिएको छ । ललितपुरमा मात्र नगर क्षेत्रमा सरकारी दुई र निजीस्तरबाट २९ एम्बुलेन्स सञ्चालित छन् ।
तर तीमध्ये धेरैजसो एम्बुलेन्स बिरामीको सेवामा भन्दा पनि अन्य कार्यमा प्रयोग हुँदै आइरहेको छ । केही समयअघि मात्रै चापागाउँस्थित बज्रबाराही पिकनिक स्थलमा एम्बुलेन्स देखियो । एम्बुलेन्स देखेपछि त्यहाँ रहेका कतिपयले पक्कै पनि कोही बिरामी परेको हुनुपर्छ भन्ने सोचेका थिए । तर अचम्म त के भयो भने त्यो एम्बुलेन्स कुनै बिरामीको सेवाका लागि नभई पिकनिक आएका मानिसको सेवामा थियो ।
यसरी आपतविपतका बेला उपलब्ध नहुने र अनावश्यक स्थलमा भेटिने गरेको एम्बुलेन्सको स्पष्ट नीति नभएका कारण दुरुपयोग भइरहेको छ । जिल्ला जनस्वास्थ्य ललितपुरका नर्सिङ अधिकृत अम्बिका केसी एम्बुलेन्स चालकको जीवन बीमा तथा स्वास्थ्यसम्बन्धी विभिन्न तालिममा सहभागी गराई जनचेतना जागृत गराउने हो भने केही मात्रामा यो समस्या समाधान हुने बताउनुहुन्छ ।
उहाँले यो समस्या ललितपुरमा मात्र नभई अन्य जिल्लामा पनि देखिएकाले यस विषयलाई गम्भीरतापूर्वक लिई नीति निर्माण तहबाटै स्पष्ट नीति आउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल रेडक्रस सोसाइटी ललितपुरका उपाध्यक्ष बाबुराज महर्जन एम्बुलेन्सको दुरुपयोग रोक्नका लागि एम्बुलेन्स कार्यदल गठन गरी कार्य थालिसकिएको बताउनुहुन्छ ।
उहाँका अनुसार यसको पहिलो चरणअन्तर्गत एम्बुलेन्सका सञ्चालक, एम्बुलेन्स चालकलगायत सम्बन्धित पक्षलाई बोलाई बैठक गरिएको र उक्त बैठकमा सबैले आफ्नो तर्फबाट एम्बुलेन्स दुरुपयोग रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस
0 comments:
Post a Comment