Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Monday, May 16, 2011

मोरङ सरोकार,रंगेली अस्पतालको बैडमै छाता चाहीने ।

On : 9:17 AM
In :
सरकारी रेकर्डमा जिल्ला अस्पतालको गणनामा रहेको मोरङको पुरानो जिल्ला सदरमुकाममा रहेको रंगेली जिल्ला अस्पतालको अवस्था नाजुक भएको छ । पानी परेको समयमा बिरामी छाता ओढेर बस्न बाध्य छन् भने चिकित्सक पनि छाता ओढेरै उपचार गर्ने गर्छन् ।दशकअघिदेखि अस्पतालको भवन मर्मत नगरिएपछि जीर्ण भएर छतबाट पानी चुहिन थालेको हो । जीर्ण भवन मर्मत तथा पुनर्निर्माण नहुँदा भवनको छतबाट पानी चुहिएर चिकित्सक र बिरामीलाई समस्या परेको छ । 'अस्पतालका सबै कोठामा पानी चुहिन्छ,'

अस्पतालका हेल्थ असिस्टेन्ट किशोर मण्डलले भने, 'अस्पतालमा भर्ना भएका बिरामीले मात्र नभई चिकित्सकले पनि पानी परेको समयमा छाता ओढेर सेवा दिनुपर्ने बाध्यता छ ।' आकस्मिककक्षमा समेत छाता ओढ्नुपर्ने बाध्यता रहेको उनले बताए । एक साताअघिदेखि अस्पतालको शय्यामा बसेर उपचार गराएकी मोरङ टकुवाकी-१ की इन्द्रावती मण्डलले भनिन्, 'तीन दिनसम्म छाता ओढेर बस्नुपर्‍यो ।' 

बेडमै पानी चुहिएपछि सर्वसाधारण वर्षातको समयमा अस्पताल आसपासका बासिन्दा पनि अन्यत्र टाढासम्म जान बाध्य छन् । घरैअगाडिको अस्पताल छाडेर रंगेली आसपासका गाविसका बासिन्दा २२ किमि टाढा विराटनगरसम्म आउने गरेका छन् । 'अस्पतालमा लामो समयदेखि दरबन्दीअनुसार अहेब नभएका कारण बिरामीलाई समस्या परेको हो,' हेल्थ असिस्टेन्ट किशोर मण्डलले भने । अस्पतालमा जम्मा ३१ जना कर्मचारीको दरबन्दी भए पनि हाल २३ जना मात्र कार्यरत छन् । अस्पतालको प्रमुख पद मेडिकल सुपरिटेन्डेन्ट ४ वर्षयता रिक्त छ । 

अस्पतालमा जम्मा ३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि चिकित्सक भने दुईजना मात्र छन् । 'ती दुवै डाक्टर करार सेवाका हुन्, डाक्टर करार सेवाका भएकाले कुनै पनि कर्मचारीले डाक्टरको निर्देशन मान्दैनन्,' अस्पतालका एक कर्मचारीले भने, 'कर्मचारी न समयमा अस्पताल आउँछन् न त पूरा समयसम्म नै काम गर्छन् ।' 

अस्पतालमा बर्सेनि लाखौँ रकम आउने गरे पनि अस्पताल भवन पुनर्निर्माण नगरिएको सर्वसाधारणको गुनासो छ । रंगेली अस्पताल मोरङको पुरानो सदरमुकाम रंगेलीको एक मात्र सरकारी अस्पताल हो । अस्पतालमा तीनजना चिकित्सक दरबन्दी र १५ शय्या भएको सो अस्पतालमा दैनिक सरदर सयजना बिरामी उपचारका लागि आउने गरेका छन् । 

स्थायी र करार सेवाका कर्मचारी तथा चिकित्सकबीचको आन्तरिक किचलोका कारण दुई महिनायता कसैले पनि तलब खान नपाएको अस्पतालका एक कर्मचारीले बताए । करारमा रहेका व्यक्तिको नाममा खाता सञ्चालन गर्न नपाइने भनी अख्तियारले रोकेपछि विभागले डा. यादवको हस्ताक्षरबाट सञ्चालन भएको सम्पूर्ण बैंक खाता फागुन २९ गतेदेखि बन्द भएको छ । 'बैंकमा तलब खाने पैसा जम्मा भएको छ, तर तलब खान पाइँदैन,' कर्मचारी किशोर मण्डलले भने । 

विभागले डा. जितलाल यादवलाई निमित्त सुपरिटेन्डेन्ट तोकेर पठाए पनि गत १५ वैशाखदेखि उनको करार अवधि सकिएको छ । त्यसपछि भने अस्पताल सुपरिटेन्डेन्टविहीन हुन पुगेको छ । अस्पतालको प्रशासनिक अवस्था लथालिंग भएको छ । 'अस्पतालमा कार्यरत डाक्टरहरूले गरेको निर्देशन एउटा कार्यालय सहयोगीले पनि टेर्दैन,' अस्पताल प्रमुख डा. यादवले भने, 'कारण डाक्टर अस्थायी भएकाले ।' डाक्टरहरू करार सेवाका भएकाले कुनै पनि कर्मचारीले डाक्टरको निर्देशन नमानेको उनको भनाइ छ । १५ शय्याको रंगेली अस्पतालमा २०६४ सालदेखि कार्यालय प्रमुख पद खाली भएकोमा डाक्टर यादवलाई एक वर्षअघि मात्र निमित्त प्रमुख बनाएर अस्पताल चलिरहे पनि अरू थप दुई डाक्टरको दरबन्दी रिक्त भएको ५ वर्ष नाघिसकेको छ । स्टाफ नर्सको दरबन्दी ४ जनाको हो, तर हाल दुईजना मात्र कार्यरत छन् । अस्पतालमा दुईवटा थोत्रा एक्स-रे मेसिन छन्, तर कर्मचारी एकजना मात्र । कर्मचारी बिदामा बस्दा एक्स-रेसम्बन्धी काम हुँदैन । रेडियोग्राफरको दरबन्दी खाली छ । 

प्रमुख जिल्ला अधिकारी नै अस्पताल विकास समितिको अध्यक्ष रहेको उक्त अस्पतालको हविगत दयनीय बनेको छ । यता, प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी भने कर्मचारी थप-घट गर्ने र निर्देशन दिने काम आफूहरूको नभई क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भएको बताउँछन् । 'हामीले वेला-वेला निरीक्षण गर्ने र सुझाब दिने हो,' प्रजिअ अधिकारीले भने, 'मैले रंगेली अस्पतालको अवस्थाबारे गत भदौमै स्थलगत निरीक्षण गरी विभागलाई सुझाब दिएको हो, पहिलो जिम्मेवारी त सम्बन्धित निकायकै हुन्छ ।'

0 comments:

Post a Comment